| Posted on July 16, 2010 at 7:45 AM |
मनोज अधिकारी, पोखरा, असार ३२- ‘आमा भन्दै आऊ छोरा' कास्कीको लामाचौरकी ६० वर्षीया खिनमाया पुर्जा पुन तीन दिनदेखि केही नखाई एउटै वाक्य दोहोर्याउँदै एकोहोरो रोइरहेकी छन्। घरका अन्य सदस्य पनि उनलाई सम्झाउने अवस्थामा छैनन्। एकले अर्कालाई हेर्नेबित्तिकै मूर्छा परेर रुन थाल्छन्। बेलायती सेनाका जेठो छोरा अर्जुन पुर्जा पुनको गत मंगलबार अफगानिस्तानमा एक अफ्गान सैनिकको गोली प्रहारबाट मृत्यु भएपछि पोखराको छिमेकी गाविस लामाचौरका यमबहादुर पुर्जा पुनको घर शोक डुबेको छ।

अर्जुन पुर्जा पुनका बाबु यमबहादुर, दिदी खिमदेवी र बहिनी सुशिला शोकमग्न अवस्थामा। तस्विर : मनोज अधिकारी
;घरको जेठो छोराको ३४ वर्षको जोसिलो उमेरमा मृत्यु भएको खबर सुनेपछि उनकी ८६ वर्षीया हजुरआमा बैसरा पुनसहित घरका कुनै सदस्य खाना खान र निदाउन सकेका छैनन्।
वृद्वा आमा जुनसुकै बेला ‘छोरा-छोरा' मात्र भनेर रोइरहेकी छिन्। बाबु यमबहादुर सहानुभूति दिन आएका आफन्तलाई सकीनसकी भक्कानिँदै पीडा सुनाइरहेका छन्। भाइको मृत्युको खबर सुनेपछि छाँद हाल्दै माइती आइपुगेकी दिदी खिमदेवी र दाजुको मृत्युमा टुहुरो बनेकी बहिनी सुशीलाका आँखा तीन दिनदेखि ओभाएका छैनन्।
‘मंगलबार घरमा बसिरहेका बेला बेलायतबाट आफन्तको फोन' बाबु यमबहादुरले ‘नागरिक'सँग भने, ‘अर्जुनको बारेमा नराम्रो खबर छ भनेर सुनाए। सुरुमा हामीले पत्याउनै सकेनौं।'
अपत्यारिलो खबरसँगै घरमा रुवाबासी चल्न थाल्यो। यमबहादुरले छोराको वास्तविक खबर बुझ्न बेलायतमै रहेका आफ्ना भाइलाई तुरुन्तै फोन गरे। भाइले पनि आफूले त्यही सुनेको तर घटनाबारे विस्तृतमा थाहा नभएकाले बुझ्दै गरेको जवाफ दिए। त्यसपछि छोराको मृत्युमा बाबुआमा मूर्च्छा पर्न थाले। त्यसैदिन साँझपख ब्रिटिस वेलफेयरका दुई कर्मचारी त्यहीँ खबर लिएर घरमा आए।
‘उनीहरूले अफगानिस्तानमा रहेका बेला छोराको मृत्यु भएको पुष्टि गरे,' गहभरि आँसु पार्दै वृद्व बाबुले भने, ‘त्यसपछि आमाचाहिँ जुनसुकै बेला ‘आमा भन्दै आऊ छोरा' भन्दै बिलौना गरिरहेकी छ। मैले उनलाई सम्झाउन सकेकै छैन।'
म्याग्दीको घोडेपानीको पुन परिवारमा १५ वर्षअघि १८ वर्षको जेठो छोरो बेलायती सेनामा भर्ना हुँदा खुसीको सीमा थिएन। छोराले राम्रो ठाउँमा नोकरी पायो भनेर उनकी आमा गर्वले दंग थिइन्। २०५२ सालमा बेलायती सेनामा भर्ना भएका अर्जुन परिवारको भरोसा थिए।
१२ वर्षअघि म्याग्दीको सिख गाउँमा बिहे गरेका उनका ९ वर्षकी छोरी र ४ वर्षको छोरा छन्। बिहेपछि उनको परिवार बेलायत बस्दै आएको छ। उनका बाबुआमा र भाइ भने घोडेपानीको रेस्टुरेन्ट बेचेर सात वर्षअघि पोखरा बसाइँ सरेका हुन्।
अर्जुनका एक मात्र भाइ धनकाजी चार वर्षदेखि हङकङमा बस्न थालेपछि लामाचौरको घरमा बाबुआमा मात्र बस्दै आएका छन्। विवाह गरेर घर गएका दुवै छोरी नजिकै रहेकाले बुढाबूढीले दुवै छोराको प्रगतिको कामना गर्दै मन बुझाएर बसेका थिए।
‘दुई वर्षअघि बिदामा आएर गएको जेठो छोरो फेरि आउला र खुसीसाथ सँगै रमाउला भन्ने आस थियो,' ३४ वर्षे छोराको मृत्युबाट निरास बाबुले भने, ‘अब ऊ कहिल्यै नआउने गरि गयो। हामी बाबुआमाका सबै सपना भताभुंग भए।'
घटना सुनेपछि आत्तिएका उनले दुवै छोरी र वरपरका आफन्तजनलाई खबर गरेका थिए। ‘भाइको बारेमा बाबुले यस्तो खबर सुनाए पनि मैले अझ पत्याउन सकेकी छैन,' बाबु नजिकै बसेर रोइरहेकी दिदी खिमदेवी पुनले भनिन्, ‘भाइसँग तिहार नमनाएको पाँच वर्ष भएको थियो। दुई वर्षअघि ऊ आउँदा पनि मेरै व्यस्ताले गर्दा भेट भएन। अहिले भाइ कहिलै नआउने गरि गयो भन्दा कसरी पत्याउनु?'
कुनै दिन भाइ फर्केर आउला र पहिले जस्तै सँगै बसेर दसैं, तिहार बनाउला भन्ने दिदी बहिनीको आसमा चट्याङ् परेको छ। दाइ बेलायतमा हुँदा विवाह गरेकी बहिनी सुशीला दाइको मृत्युको खबरले बोल्न सक्ने अवस्थामै छैनन्। दाइको बारेमा सोच्नेबित्तिकै उनी टोलाउन थाल्छिन्।
‘घरमा हुँदा दाजुभाइ मिलेर फुटबल खुब खेल्थे,' मसिनो स्वरमा दिदी खिमदेवीले भनिन्, ‘अर्जुन फुटबल भनेपछि हुरुक्क हुन्थ्यो। फुटबल उसको प्रिय खेल थियो।'
कसैको बहकाउमा पछि नलाग्ने, रामरमितामा नजाने, अनावश्यक साथीभाइको संगत गरेर खानपानमा नभुल्ने, एकान्त मन पराउने शान्त स्वभावको छोरो के कारणले मारियो भन्ने उनले जान्न सकेका छैनन्। उनलाई निर्दोष छोरोको मृत्युको कारण जान्ने मन छ।
१५ वर्षसम्म जसका लागि लड्यो उसैको सम्मानसाथ छोरोको अन्तिम संस्कार होस् भन्ने पुन परिवारको इच्छाअनुसार अर्जुनको अन्त्येष्टि बेलायतमै गरिने भएको छ। अन्तिमपटक छोराको अनुहार हेर्न बेलायत जाने बाबुआमाको इच्छालाई वेलफेयरले पूरा गर्ने भएको छ।
‘उसकी श्रीमती, छोराछोरी र सासुससुरा पनि बेलायतमै रहेकाले उसको शव नेपाल ल्याउन उचित लागेन,' बाबु यमबहादुरले भने, ‘वेल फेयरले अन्तिम संस्कारमा बाबुआमासहित नजिकका केही आफन्त जान मिल्छ भनेको छ।'
Categories: Related to News
The words you entered did not match the given text. Please try again.
Oops!
Oops, you forgot something.